नेपाल–भारत सम्बन्धः प्रचण्डलाई बोलाएर दिल्लीले दिन खोजेको सन्देश के हो?

भारतको सत्तारूढ दलको निम्तोमा नयाँ दिल्ली पुगे तापनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भ्रमण त्यहाँको सत्तासँग संवादमा केन्द्रित रहेको देखिएको पूर्वकूटनीतिज्ञ एवं जानकारहरूले टिप्पणी गरेका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास गर्ने चर्चा भए पनि ’त्यस्तो भेट नभएको’ प्रचण्डको सचिवालयले जनाएको छ। आइतवार तीनदिने भ्रमण टुङ्ग्याएका प्रचण्डले आफूलाई निम्त्याउने भारतीय जनता पार्टी (भाजपा)पङ्क्तिबाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन्।

भाजपाका अध्यक्ष जेपी नड्डाले ’आफ्नो दललाई परिचित गराउने’ कार्यक्रम अन्तर्गत प्रचण्डलाई दिल्ली निम्त्याइएको भेटपछिको आफ्नो ट्वीटमा लेखेका छन्। प्रचण्डसँग भ्रमणमा साथ रहेका उनका स्वकीय सचिव रमेश मल्लले आफ्ना अध्यक्षको भ्रमण ’देउवाको भारत भ्रमण, त्यसपछि भएको मोदीको नेपाल भ्रमणसँग जोडिएकोले अर्थपूर्ण रहेको’ बीबीसीलाई बताएका छन्।

“पार्टी–पार्टीबीचको सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले भ्रमण भए पनि उच्च सरकारी अधिकारीबीच समेत निकै राम्रो संवाद हुन सक्यो,“ मल्लले दिल्लीबाट बीबीसीसँग भने। “गठबन्धनबारे भारत सकारात्मक भएको पाइयो।“

पूर्वप्रधानमन्त्री एवं सत्तारूढ गठबन्धनको एक मुख्य दलको अध्यक्ष भइकन पनि ’राष्ट्रको औपचारिक प्रतिनिधित्व गर्नु पर्ने भार नहुनुले’ एकअर्कालाई बुझ्ने–बुझाउने अवसर यस्ता भ्रमणमा धेरै हुने कूटनीतिक क्षेत्रका जानकारहरूको मत पाइन्छ।

तर प्रचण्डले त्यो अनौपचारिक अवसर लिन नचाहेको देखिएको एकथरी पूर्वकूटनीतिज्ञहरू टिप्पणी गर्छन्। भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्यले प्रचण्डले ’सत्तामा आफूलाई भाजपाजत्तिकै ठानेर भ्रमणमा गएको’ टिप्पणी गर्छन्। उनी भन्छन्, “प्रचण्डजी आफैले सत्तारूढ दलहरूबीचको सम्बन्ध सुधार गर्दै देशहरूबीचको सम्बन्ध सुधार्ने उद्देश्य भनेपछि वहाँसँग दलको नेता मात्र भएर बोल्ने अनुकूलता हुँदैन।“

छायामा ’भारतको नेपाल नीति’

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रचण्डप्रति दिल्लीको अस्थिर दृष्टिकोण रहने गरेको बताउँदै यस पटक ’बढी नै रुचाएको देखिएको’ टिप्पणी गर्छन्। “हामीले यस्तो प्रणाली बनाएका छौँ जहाँ कांग्रेस मात्रैले पनि एक्लै केही गर्न सक्ने अवस्था छैन,“ कांग्रेस नेता समेत रहेका उपाध्याय भन्छन्।

“गठबन्धन संस्कृति नेपालमा अपरिहार्य देखिएका बेला भाजपाले समेत सोही अनुरूप सबै मुख्य पार्टीसँग सम्बन्ध राम्रो बनाउन चाहेको देखिन्छ। तर हामीले कस्तो सम्बन्ध चाहेका हौँ त्यो प्रस्ट पार्न सफल भइरहेका छैनौँ।“
पूर्वराजदूत उपाध्यायले ’भारतको नेपाल नीति वा दृष्टिकोण स्पष्ट नहुँदा’ समस्याहरू झेलिरहेको ठान्छन्। “स्थापित संयन्त्रमा समेत वार्ताका लागि तयार नहुने समस्या रहिआएको छ। सीमाका समस्या, पानीको बहुउपयोगका विषयमा भारतको ज्यादती नै देखिन्छ,“ उपाध्यायको भनाइ छ।

“पानीको बहुउपयोग जस्ता विषय आपसी लाभको क्षेत्र भइकन पनि भारतले अन्तर्राष्ट्रिय कानुन र नियमलाई मान्न सकिरहेको छैन।“ बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्