अछाम — अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत ३ जना माथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।