इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबैलाई कारवाही हुँदैन – विभाग

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारीमा नम्बर इम्बोस्ड प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कार्तिक २०७८ को राजपत्रले तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको स्पष्ट गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै इम्बोस्ड प्लेट जडान नभए कारवाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो । तर, विभागले यस मामिलामा पछि नहट्ने संकेत गरेको छ ।

विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनासय अलिकति पनि होइन ।’

सरकारको प्रकाशित गरेको राजपत्रमा अनुसार १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी, १ फागुनदेखि नामसारी हुने सवारी र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारीलाई अनिवार्य गर्ने व्यवस्था गरेको थियो ।

सार्वभौम संसदबाट निर्माण भएको कानुनबाटै इम्बोस्ड प्लेट जडानको काम अघि बढेको भन्दै विभागले राजपत्रले अनिवार्य गरेका बाहेकका सवारीमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने स्पष्ट गरेको छ ।

विभागले अहिलेकै गतिमा इम्बोस्ड जडान गर्दा ४० दिनमा २५ लाख सवारीलाई सेवा दिन नसकिने स्वीकारेको छ । तर, विभागले राजजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारीमा जोडिएको वा नजोडिएको भन्न्बारे अनुमगन आवश्यक देखिएको बताएको छ ।

‘..राज्यको दायित्व थपिँदै जाने, तर त्यसले लक्षित उद्देश्य प्राप्त नहुने अवस्थमा जिम्मेवार निकाय र पदाधिकारी गम्भी रहुनपर्छ भन्नेमा विभाग सचेत छ,’ सूचनामा भनिएको छ । विभागले अहिले करिब २ लाख ५० प्लेट छापिएको भण्डारमा रहेको जानकारी दिएको छ । यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै विषय ठानेको र सवारी कार्यालयहरुले पनि उदासीन भएर सेवा दिइरेको विभागको भनाइ छ । यसले गर्दा ठेकदार कम्पाीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जाना हुने अवस्था आएको विभागले स्पष्ट गरेको छ ।

विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि गरेको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ ।

विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ । विभागमा परीक्षणका रुपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको जानकारी दिएको छ । प्लटको गुणस्तरबारे उठेका प्रश्नमा भने विभाग मौन बसेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्