बेपत्ता विमानका पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, खोजी कार्य जारी

File Photo

काठमाडौं – नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।

पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाइएको बताइएको छ ।

मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्