काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्वभर त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमनमा थप तीब्रता दिने भएको छ ।
माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो ।
बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि गृह मन्त्री थापाले निर्देशन दिएका छन् । बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।
बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।
उनका अनुसार कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री बादलले निर्देशन दिएका छन्