काठमाडौँ – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ ।
एक सय १५ वटा नगरपालिका र तीन सय ३५ वटा गाउँपालिका गरी चार सय ५० वटा पालिकाको नतिजा सार्वजनिक भएकोमा कांग्रेस ६२ वटा नगरपालिका र एक सय ४३ वटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएको हो । यस्तै कांग्रेसले अहिलेसम्म ५२ वटा नगरपालिकाको उपमेयर, एक सय ४७ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार २० वटा वडाको वडाध्यक्ष पद जितेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३२ वटा नगरपालिकाको मेयर र ९३ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय २५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ३७ वटा नगरपालिकाको उपमेयर, ९१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार पाँच सय ७५ वटा वडाको अध्यक्ष पदमा जित निकालेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ वटा नगरपालिका र ७७ वटा गाउँपालिकाको अध्यक्ष गरी ८९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादी केन्द्र १९ वटा नगरपालिकाको उपमेयर, ७८ वटा गाउँपालिकाको उपाध्यक्ष र आठ सय ४५ वटा वडाको अध्यक्ष पदमा विजयी भएको छ ।
नेकपा एकीकृत समाजवादीले दुई वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एकीकृत समाजवादीले चार वटा नगरपालिकाको उपमेयर र १० वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ । जनता समाजवादी पार्टीले आठ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । बाँकी पालिकाहरूमा जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दल र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।