काठमाडौँ – स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा बैतडीमा ६७.२२ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार जम्मा एक लाख ४० हजार २ सय एक मतदाता मध्ये ९९ हजार ८ सय ९६ जनाले मतदान गरेका हुन् ।
मतदान गर्नेमा महिला ५४ हजार ३ सय ९६ रहेका छन् भने पुरुष ४५ हजार ५ सय रहेका छन् । जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानीयतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ । यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतले जनाएका छन् ।