काठमाडौँ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुका अभिभावकहरुको ४ दिने कार्यशाला १७ गते विहीबार सम्पन्न भएको छ । चैत्र १४ गतेदेखि सुरु भएको कार्यशालामा मोरङ, कास्की, रूपन्देही, काठमाडौँ उपत्यका वरपरका श्रवणदृष्टि विहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले सहभागी जनाउनुभएको थियो । श्रवणदृष्टि विहीन भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने तथा समाजमा पुनःस्थार्पना हुने अधिकारबाट बञ्चित भएको भन्दै पढ्न पाउनुपर्ने माग गरेका हुन् ।
कार्यशालामा बोल्दै श्रवणदृष्टि विहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुर्वे शेर्पाले यस किसिमको अपाङ्गता भएका बालबालिकालाई स्कुलले भर्ना लिए, आवश्यक सहयोग संघको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । “अपाङ्गता भएका बालबालिकालाई हेर्ने अभिभावकको मात्र कर्तव्य होइन । स्थानीय सरकार तथा शैक्षिक संस्थाले पनि समन्वय गरेर त्यस्ता बालबालिकालाई सिक्ने अवसर प्रदान गर्नु उहाँहरुको पनि नैतिक दायित्व हो,“ अध्यक्ष शेर्पाले भन्नुभयो । उहाँले केही समयका लागि पढाउने शिक्षक, अभिभावक र यातायातको समेत व्यवस्था संघले गर्ने र सम्बन्धित स्कुलकै शिक्षकलाई समेत तालिम दिन सकिने बताउनुभयो ।
त्यस्तै, कार्यशालामा बोल्दै ’श्रवणदृष्टि विहीन बालबालिकाका लागि समावेशी शिक्षा प्रवर्द्धन परियोजना’ संयोजक शंकर सिंह चैसिरले श्रवणदृष्टि विहीन बालबालिकाले अन्य विद्यार्थीसँगै शिक्षा हासिल गर्न पाउनु समावेशी शिक्षा अधिकार भएको बताउनुभयो । इन्द्रियहरुले सूचना लिने काममा आँखा र कानको मात्र ९५ प्रतिशत योगदान हुने भएकाले श्रवणदृष्टि विहीनता एक जटिल प्रकृतिको अपाङ्गता भएको र समावेशी शिक्षा नीतिको कार्यान्वयनका लागि पनि यस वर्गका बालबालिकाले स्कुल भर्ना हुन पाउनुपर्ने माग दोहो¥याउनु भयो ।
वि.सं. २०६८ जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ०.०३७ प्रतिशत (९,७१४) श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु रहेका छन् ।
यो पनि पढ्नुहोस्…