काठमाडौँ । निजी विद्यालयहरूको छाता संगठन ‘राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन’ (नेसनल प्याब्सन) नेपालको राष्ट्रिय अध्यक्षमा पाण्डव हमालले उम्मेदवारी दिएका छन् । बाँकेको नेपालगन्जमा हुने नेसनल प्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशनका लागि हमालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । छैटौँ महाधिवेशनमा वर्तमान अध्यक्ष ऋतुराज सापकोटासंग झिनो मतले हार व्यहोरेका हमाल यस पटक भने निर्विरोध अध्यक्ष बन्ने दाउमा छन् ।
हमाल भन्छन्, ‘अघिल्लो महाधिवेशनमा केही प्राविधिक कारणले पराजय हुन पुगे । तर पनि वर्तमान कार्यसमितिलाई मेरो क्रियटिभ सहयोग रह्यो । जिल्ला–जिल्लामा हुने प्रायः कार्यक्रमहरूमा उपस्थित भएको छु । नीतिगत छलफलमा सहभागी भएको छु । यस कारणले पनि होला साथीहरूले नेतृत्वमा आउनु पर्छ भन्नु भयो । उहाँहरूले दिनु भएको सुझावलाई हृदयङ्गम गर्दै मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’
अहिले हामी महाधिवेशनको अन्तिम तयारी जुटेका छौँ । नेपालगन्जमा महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी छ । हामी आएको आज चार दिन भइसकेको छ । प्रतिनिधि साथीहरूले मेरो पक्षमा समर्थन जनाइ रहनु भएको छ । वर्तमान पदाधिकारीको पनि पूर्ण समर्थन पाएको छु । आशा छ मेरो नेतृत्वमा निर्विरोध कमिटी बन्नेछ, उनले भने ।
शिक्षामा निजी क्षेत्रको लगानी सुनिश्चित गर्न, सदस्य विद्यालयहरूको हकहित, संरक्षण र सम्बद्धन गर्न, विभेदकारी छात्रवृत्ति नीतिलाई निष्क्रिय बनाउन उद्देश्य लिएको बताए । नेपालगञ्जमा फागुन २२ र २३ गते देशभरका संस्थागत विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्ने जनाइएको छ ।
को हुन् पाण्डव हमाल ?
नेसनल प्याब्सनको स्थापना कालदेखि सक्रिय हमाल लाहान मेरी चिल्ड्रेन स्कुलका संस्थापक हुन् ।लाहान मेरी चिल्ड्रेन स्कुल सिराहा जिल्लाकै उत्कृष्ट विद्यालयको रूपमा चिनिन्छ । ३ दशकभन्दा लामो समय शिक्षा क्षेत्रमा बिताइ सकेका हमाल २४ वर्ष अगाडि नेसनल प्याब्सन स्थापना हुँदा तदर्थ समिति सदस्य थिए । हमालले यसअघि २ पटक केन्द्रीय सदस्य, २ पटक केन्द्रीय सचिव र २ पटक केन्द्रीय उपाध्यक्षमा निर्वाचित भई काम गरी सकेका छन् ।
हमाल नेसनल प्याब्सनिष्टहरुको बिचमा मात्रै होइन, समग्र शिक्षा क्षेत्रमा परिचित नामको रूपमा लिइन्छ । देशको समसामयिक शिक्षामा उठ्ने महत्त्वपूर्ण विषयमा हमालले राष्ट्रिय मिडियाहरूमा दर्जनौँ पटक बहस गरेका छन् । आफूलाई लागेको कुरा स्पष्ट राख्न सक्ने वक्ताको रूपमा पहिचान बनाएका हमाल निजी विद्यालयहरूमा हुने कुनै पनि समस्या समाधानमा आफूलाई उभ्याउँदै आएका छन् भने संस्थागत विद्यालयहरूको गुणस्तरीय प्रवर्द्धन, व्यवस्थित तथा परिणाममुखी एन प्याब्सनको निर्माण गर्नु पर्छ भन्ने उनको ध्येय रहेको छ ।