दार्चुला – गोकुलेश्वरमा मंगलबार देखि लाग्ने शिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ गोकुलेश्वर बजारमा लाग्ने शिवरात्रि मेलाकोे तयारी अन्तिम चरणमा पुगेको हो । शैल्यशिखर नगरपालिकाको वडा नं. ९ जगतपुरीधाममा महाशिवरात्रीको अवसरमा विशेष पुजाअजा हुने गर्दछ । शिवजीको दोस्रो ज्योतिर्लिङ्गको रूपमा पुजिने भगवान मालिकार्जुनको पौडिका रूपमा चमेलिया नदिको तटमा नुहाएर श्रद्धालु भक्तजनहरू शिवालयमा पुजाआजा गर्ने गर्दछन् । मालिकार्जुनको पौडिमा नुहाएर पुजाआजा गरे हरिद्वार गए जत्तिकै पुण्य मिल्ने जनविश्वास् रहिआएको छ ।
प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा गोकुलेश्वर बजारमा व्यापार मेला लाग्ने गर्दछ । मेलामा मार्माली मट्टा, सुपा देखि व्यासी गलैचा, चुट्काहरू र विभिन्न जडिबुटीको व्यापार हुने गर्दछ । शैल्यशिखर नगरपालिका शिवरात्रि मेलाको मुल आयोजक बनेको छ । नगरप्रमुख अमरसिंह धामीले संयोजकत्वमा शिवरात्रि मेला कुल आयोजक समिति गठन गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जयानन्द जोशीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबारदेखि लाग्ने मेलाको सम्पुर्ण तयारी पूरा भएको अध्यक्ष जोशीले जानकारी दिए ।