काठमाडौँ –आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश–२ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश–२ मा मात्र भाग लिनेछन् । निर्वाचनका लागि प्रदेश सभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
उन्नाइस पदका लागि हुने त्यस निर्वाचनमा पालिकाका एक हजार ४९३ र प्रदेश सभाका ५३२ मतदाता रहने छन् ।