काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय ३१ कम्पनीका ७९ लाख ३२ हजार कित्ता शेयर तीन अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज कर्पोरेट विकास बैंक र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि साम्लिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
यो हप्ता आइतवार, सोमवार र मङ्गलवार घटेको नेप्से बुधवार हिजो सामान्य बढेको थियो । तर हप्ताको अन्तिम दिन आज झन्डै ५० अङ्कले घटेको हो । समग्रमा यो हप्ता नेप्से डेढ सय अङ्कभन्दा धेरैले घटेको छ ।