चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । तर अध्यक्ष पदमा भने नेता भीम रावलले सहमति नदिएपछि ओली र रावल बीच चुनाव हुने भएको छ ।
राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । लगत्तै अध्यक्ष मण्डलमा छलफल गरेका उनले भीम रावललाई मनाउने प्रयास गरेका थिए । तर रावल उनको प्रस्तावमा सहमत भएनन् ।
उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ छन् । सुरुमा उनले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्बाङको नाम छुटाएका थिए । अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राखे ।
यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सारेका उनले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।
सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिए । आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । लगत्तै उनले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गरेका छन् ।