जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन तथ्याङ्क विभागको आग्रह

काठमाण्डौ – केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ । शहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासो गरेपछि विभागले लगत सङ्कलनका लागि घरघरमा पुगेका गणकलाई सहयोग गरिदिन अनुरोध गरेको हो । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले आउँदो ९ गतेसम्म गणनाको मुख्य काम सकिसक्नु पर्ने भएकाले गणकहरुलाई सहयोग गरिदिन अनुरोध गर्नु भएको हो ।

उहाँकाअनुसार अहिलेसम्म हिमाली र पहाडी जिल्लामा ८० देखि ९० प्रतिशतसम्म गणनाको काम सकिएको छ । सहरी तथा तराई र मधेशको भने जानकारी आउन बाँकी रहेको विभागले जनाएको छ ।
यस्तै, राष्ट्रिय जनगणनाका लागि घरघरमा पुगेका गणकलाई सुविधा सम्पन्न भनिएकै काठमाण्डौ सहरमा तथ्याङ्क सङ्कलन गर्न सकस भएको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका केही बासिन्दाले तथ्याङ्क सङ्कलनमा सहयोग नगरेको गणकहरुको गुनासो छ । काठमाण्डौ उपत्यकाको जनगणनाका लागि अहिले झण्डै चार हजार गणक खटिएका छन् ।
गणनाका लागि घर घरमा पुगेका गणकहरुलाई गेट नखोलिदिने, भाडामा बसेकाहरुको विवरण दिन नमान्ने तथा घरको मुख्य मान्छे बाहेक अरु नबोल्ने गरेका जस्ता गुनासा आएका केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्