संविधान संसोधनको तयारीमा नेकपा, काँग्रेसको विरोध

काठमाडौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने बताएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार कमिटी गठन गरेपछि कांग्रेसले विरोध गरेको हो ।

मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन् ।

‘मधेसले माग्यो, संविधान संशोधन । भनियो–हुन्न, जनजातिले मागे हुन्न भनियो,
दिलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी? गम्भीर राष्ट्रिय विमर्श्विना यो के तमासाको तयारी कमरेडहरु?’

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने हो भने संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधि सभा सदस्यजस्तै प्रधानमन्त्री हुन पाउने बाटो खुला गर्नुपर्ने बताउँदै आएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सचिवालय बैठकमा उक्त प्रस्ताव लगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्