माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा चैत, भित्र विद्युत् उत्पादन गर्ने तयारी

लमजुङको दोर्दी खोलामा निर्माण भइरहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत ३० गतेभित्र विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला गत वर्षायाममा बाढी पहिरोले पुरिएका संरचना मर्मतले ढिलाइ भएको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लिमिटेडले जनाएको छ । यसअघि भदौ १४ गते निर्माण सक्ने योजना रहेकोमा साउन ८ गतेको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । आयोजना मर्मतसँगै बाँकी कार्यलाई तीव्रता दिइएको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो । ‘बाढीले पुरिएको भागको मर्मत सम्भार गरी आयोजनालाई अन्तिम रूप दिँदैछौँ । चैतभित्रै हामी विद्युत् उत्पादन गर्छौं’ उहाँले भन्नुभयो ।
आयोजनाका साइट प्रोजेक्ट म्यानेजर सुरेशप्रसाद जोशीका अनुसार आयोजनाको बाँध, डिसेन्डर तथा गेट संरचनाको काम ९४ प्रतिशत सकिएको छ । दुई हजार ६२३ मिटरको टनेल निर्माण ९६ प्रतिशत सकिएको छ । दुई हजार ८३४ मिटरको पेनस्टक पाइप बिच्छ्याउने र विद्युत् गृहको कार्य ९९ प्रतिशत सकिएको छ । मेसिनरी सामान जडान गर्न बाँकी छ । स्विच यार्डको सिभिल निर्माण कार्य ९० प्रतिशत सकिएको उहाँले बताउनुभयो । आयोजनामा १२.५ मेगावाट क्षमताका दुईवटा पेलटन टर्बाइन रहने छन् । आयोजनाको ग्रसहेड ३२५ मिटर रहेको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विद्युत् गृह नजिकै दोर्दी गाउँपालिका ६ कीर्तिपुर बेँसीमा निर्माण गरिरहेको १३२ केभीको सब स्टेसनमा जडान गरिने छ । विद्युत् गृहदेखि सब स्टेसनको दूरी १३० मिटर छ ।
यसअघि तीन अर्ब ९६ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनाको लागत बढेर चार अर्ब ६३ करोड ६० लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ । भारतीय नाकाबन्दी, भूकम्प, बाढी पहिरोलगायतले समय अवधि थप हुँदा आयोजनालाई लागत ६७ करोड ६० लाख ९५ हजार रुपियाँको व्यभार थप भएको आयोजनाले जनाएको छ । २०७१ फागुनबाट सुरु गरिएको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले लगानी गरेका छन् । आयोजनामा बैङ्कको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी छ ।
नदीको बहावमा आधारित सो आयोजनाको प्रभावित क्षेत्रको विकासका लागि छ करोड रुपियाँ विनियोजन गरेको थियो । आयोजना निर्माणका क्रममा चार करोड खर्च गरिने र बाँकी दुई करोड आयोजनाबाट विद्युत् उत्पादनपछि स्थानीयको विकासमा खर्चिने आयोजनाले जनाएको छ । पेनस्टकको सिभिल र हाइड्रो मेकानिकलको काम माछापुच्छ«े जेभीले गर्दै आएको छ । हेडवक्र्स र पावरहाउस बज्रगुरु कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।

श्राेत : गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्