चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ ।
वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् ।
वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।
यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो ।
चीनमा कोरोना भाइरस (काेभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।
काेराेनाका कारण चीनबाहिर चार जनाकाे ज्यान गइसकेकाे छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।
बेइजिङमा रहेको वित्तीय र समाचार मिडिया सङ्गठन, केग्सनले कोरोनाका कारण तीन हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताएको छ । यो सङ्ख्या चीन सरकारले दाबी गरेको भन्दा झण्डै दोब्बरले बढी हो ।
श्राेत : उज्यालाे अनलाइन http://ujyaaloonline.com/