काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (पहिलेको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको बनाउने दूषित मनशायले आँखा लगाउने कुरा सह्य नहुने बताउनुभएको हो ।
अहिलेसम्म सरकारले देशका विभिन्न ठाउँमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो ।
डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा यकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनशाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।
मन्त्रालयले आइतबार काठमाण्डौ महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो ।
मन्त्री अर्याल आफैँले त्यस जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो ।