नाराणकाजी गर्जिए– भारतलाई भने : हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताए ।

‘भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन्,’ उनले भने, ‘म क्रुर, अमानवीय यस्तो कार्यको घोर भत्र्सना गर्दछु र दोषीमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

सरकारले सो घटनाबारे छानविन समिति बनाएर परिपक्व कुटनीतिमार्फत संवाद गरौं भन्ने प्रयास थालेको भन्दै उनले आवश्यक पर्दा जस्तोसूकै कदम चाल्ने प्रतिबद्धता पनि सरकारका तर्फबाट आएकोमा स्वागत गरे । ‘यो ठिकै छ । तर छानविन समितिको प्रतिवेदन ल्याएर भारतसँग छिटोभन्दा छिटो यसबारे कुटनीतिक स्तरमा कुरा राख्ने काम गर्नुपर्छ,’ उनले भने ।

सबै प्रकारका समस्याको समाधान कुटनीतिक रुपमा गरौं भन्ने मान्यतामा नेपाल रहेको भन्दै उनले भारततर्फ लक्षित गर्दै भने, ‘तर नेपाल र नेपालीमाथिको हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन ।’ अहिले राजनीतिक दलहरु विभाजितजस्तो देखिए पनि राष्ट्रियताको पक्षमा एकैठाउँमा उभिने र त्यसरी उभिएका उदाहरण पनि प्रशस्त रहेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्