गोपाल ढकाल, मनोबिद्
सामाजिक संजालको अहिलेको जमनामा सानो केहि कुरा हुने बितिकै एक कान, दुई कान हुँदै मैदान हुने बेर लाग्दैन । तर जनमानसमा फैलिने यस्ता कुराहरु सधै सत्य नै हुन्छन भन्ने हुदैन । यिनिहरु झुट्टा , उडन्ते , तथ्य र आधार नभएका , प्रमाण विहिन र मनगडन्ते पनि हुन सक्छन ।
अफवाह फैलिदा यसबाट धनजनको ठूलो क्षति पनि हुन सक्छ । यसले समाजमा शान्ति र सदभाव पनि खलबल्याउन सक्छ । अफवाहको कारणले पुग्ने मानसिक क्षति र असर झनै भयाभह र अनुमान गर्नै नसकिने पनि हुन सक्छ । अफवाह फैलिदा समाजमा डर , त्रास , भय तथा अशान्तिको वातावरण सृजना हुन्छ ।
अफवाहले मानिसहरुमा मानसिक तनाब, डर – चिन्ताको समस्या , डिप्रेशन, मानसिक आघात , अनिन्द्राको समस्या जस्ता मानसिक रोग देखिन सक्छन ।
कवि भुपि शेरचनले ” नेपाल हल्लै हल्लाको देश हो ” भन्नु भएको छ । उहाँले भने झै हाम्रो समाजमा अफवाह छिट्टै नै फैलिने गर्छ । नेपालमा पनि कहिले बिबिसिले यसो भन्यो रे , कहिले फलानोले यसो भन्यो रे भनेर उसको हवला दिदै भुईचालो जाने , हवाई जहाज दुर्घटना हुने , औषधिमा घातक जिबाणु भेटियो भन्ने जस्ता हल्लाहरु बेला बेला सुन्नमा आउने गरेका छन ।
गतबर्ष देखि बिश्व कोरोना महामारीसँग जुझि रहेकोछ । बिपत्तिको यस समयमा पनि बिश्व भरि नै विभिन्न खालका अफवाहहरु फैलिए । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनासँग सम्बन्धित कतिपय अफवाहहरु अहिले पनि फैलिई रहेका छन । हालै मात्र कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा समेत परेको छ ।
कोरोनाको प्रकोप भन्दा पनि गलत सुचना र अफवाहले गर्दा मानिसहरुमा अत्याधिक डर, त्रास , भय बढाएको देखिन्छ । अफवाह फैलिनुमा कतिपय अबस्थामा संञ्चार माध्यमहरुले पनि भुमिका देखिन्छ । नबुझिकन समचार लेख्ने , समचार ब्रेक गर्न हतार गर्ने जस्ता कार्यले अफवाह फैलिनुमा आगोमा घिउको काम गरिरहेको हुन्छ । कोहि ब्यक्तिहरुले नजानिदो तरिकाले मिडियालाई नै प्रयोग गरेर समेत अफवाह फैलाई रहेका हुन्छन् ।
विपत्तिको वेला अफवाहको जोखिम
बिपतिका बेला विभिन्न किसिमका अफवाहहरु फैलिने सम्भावना हुन्छ । बिपत्तिको अन्त्य कहिले हुन्छ भन्ने निश्चित हुदैन । यस्तो अनिश्चितकालीन अबस्थामा धेरै किसिमका कडकल बाजि तथा अफवाहरु फैलिने जोखिम बढेर जान्छ । यस्तो कठिन र अनिश्चिताको समयमा मान्छे अतालिएको हुन्छ । डर ,त्रास , तनावको कारणले गर्दा उसको सोच्ने , निर्णय लिने, सुझबुझ गर्ने क्षमतामा पनि कमि आउछ । यस्तो बेला कसैले “कागले कान लग्यो ” भन्दा कान नछामी कागको पछि दौडने ब्यवहार मान्छेले देखाउन पनि सक्छ । विपत्तिको समयमा प्राय सबैमा केही न केही डर ,चिन्ता हुने गर्छ । आफ्नो डर चिन्तालाई लुकाउने र आफू निडर छु भन्ने देखाउनका लागि पनि ब्यक्तिले गलत कुरा गरेर अफवाह फैलाउन सक्छ । अध्ययन अनुसार ब्यक्ति जति बढि चिन्तित हुन्छ उसले अफवाह फैलाउने सम्भावना अरु भन्दा उति नै बढि हुन्छ।
सधैजसो चर्चामा आईरहन चाहने ब्यक्तिहरु जस्तो कलाकार , राजनितीज्ञहरु बिपत्तिको बेला ओझेलमा पर्न सक्छन् । त्यस्ता ब्यक्तिहरुले पनि विपत्तिको बेला विभिन्न हदकण्डा प्रयोग गर्न सक्छन् । सामान्य ब्यक्तिको हकमा पनि अफ्ट्यारो परिस्थितिमा उसले अरुबाट बढि नै साथ, सहयोगको अपेक्षा गर्ने गर्छ । अरुको साथ, सहयोग र सहानुभूति पाउनैका लागि कुरालाई बढि चढाई गर्ने गर्न सक्छन ।
वास्तवमा किन फैलिन्छ त अफवाह ? कसैले किन अफवाह फैलाउन चाहन्छ ? यसको मनोबैज्ञानिक कारण के के हुन सक्छन् ? यसैको बारेमा यहाँ चर्चा गरिन्छ ।
अफवाह फैलाउनुका कारणहरु यस्ता हुन सक्छन् ।
चर्चाको भोक
हिजो आज धेरैलाई चर्चा कमाउने , भाईरल हुने भोक जागेको छ । सामाजिक संजालले मान्छेको त्यो भोकलाई थप जगाई दिएकोछ ।
मनोविज्ञानका हिसाबले पनि मान्छेहरु समाजमा आफ्नो चर्चा होस , मान सम्मान , प्रतिष्ठा बढोस भन्ने चाहन्छन् । कोहि पनि गुमनाम हुन चाहदैनन् । सामाजिक संजालमा फोटो पोष्ट गर्दा होस वा कुनै स्टाटस लेख्दा होस , धेरै भन्दा धेरै लाईक , सेयर र कमेन्ट होस भन्ने सबैको चाहना हुन्छ । आफ्नो यहि चाहना पूरा गर्न , आफुलाई जान्ने , बुझ्ने देखाउन, आफू महत्त्वपूर्ण भएको भान पार्न , अरुको सामु आफू नोटिस हुन , आफ्नो पहिचान बढाउन , समाजमा आफ्नो प्रतिष्ठा बढाउने उदेश्य तथा अरुको ध्यान आफुतिर खिच्नका लागि पनि मान्छेले अफवाह फैलाउने वा फण्डा गर्ने गरेको देखिन्छ ।
ब्यक्तिगत फाईदा
केहि ब्यक्तिहरुले अफवाहलाई आफ्नो बिज्ञापनको माध्यम समेत बनाउने गरेको देखिन्छ । यस्ता ब्यक्तिहरु प्राय ठगि धन्दा चलाउने हुन्छन । आफुलाई माता , गुरु, ज्योतिषि हुँ भन्नेहरु भुकम्प जाने , अनिष्ट हुने जस्ता हल्ला चलाउने गर्दछन । उनीहरुको उदेश्य आफ्नो प्रचार गर्नु नै हुन्छ । साथै यस्तो डर त्रास देखाएर उनिहरुले मानिसहरुलाई आफ्नो पकडमा राख्न समेत खोजिरहेका हुन्छन । अध्यानले देखाए अनुसार विपत्तिको समयमा मानिसहरुले तथ्यमा भन्दा अन्धविश्वास र
परम्परागत कुरामा बढि बिस्बास गर्न थाल्दछन । यस्तो बेला मानिसहरुले अलौकिक शक्तिमाथि बढि भर गर्ने गरेको देखिन्छ । यसकारण मानिसहरु माता , बाबा , गुरु , ज्योतिषीहरुले भनेको कुरालाई सजिलै अनुसरण गर्न थाल्छन् ।
कालो बजारी गर्ने ब्यापारीहरुले भने सामान लुकाउने , कृतिम अभाव सृजना गर्ने , मंहगो मुल्यमा सामान बेच्ने उदेश्यले पनि अफवाह फैलाउने गरेको पाईन्छ ।
हिजोआज कतिपय मिडियाहरुले भ्युज बढाउनका लागि ब्यक्तिगत फाईदाका उदेश्यले पनि गलत समचारलाई स्थान दिएको देखिन्छ ।
ब्यक्तित्ब बिकार
समाज बिरोधि ब्यक्तित्व बिकार भएका ब्यक्तिहरु सदैव अरुलाई दुख दिने र अरुको दुखमा आफू रमाउने खालका हुन्छन् । यस्ता ब्यक्तिहरु चाहिदो नचाहिदो हल्ला चलाउने , समाजको शान्ति सु ब्यबस्थामा खलल पुर्याउने , हत्या , हिंसा , बलत्कार गर्न पछि नपर्ने हुन्छन । विपत्तको समयमा यस्ता ब्यक्तिहरु अझ बढि सक्रिय हुने मौका पाउँछन् । आफुलाई जान्ने , बुझ्ने छु भन्ने देखाउन यस्ता ब्यक्तिहरुले विभिन्न किसिमका तर्कहरु गर्छन। यस्ता ब्यक्तिहरु एकदमै चतुर र चलाख पनि हुने गर्दछन । यस्तो किसिमको ब्यक्तित्व बिकार भएका मानिसहरु हाम्रो समाजमा पनि धेरै हुन सक्छन्।
रोचक कुरा त के छ भने यस्तो व्यक्तित्व बिकार भएका मानिसहरु पढे लेखेका, पदमा पुगेका , धेरैले मान्ने गरेका पनि हुन सक्छन् । यसकारण उनीहरुको कुरा अबिस्वास गरि हाल्न धेरैलाई ग्रार्हो पर्न पनि सक्छ । यस किसिमको व्यक्तित्व विकार भएका कतिपय ब्यक्तिहरु धार्मिक गुरु, समाजसेवी , राजनितीज्ञ , पत्रकार आदिको भेषमा लुकेर बसेका पनि हुन सक्छन् ।
अशिक्षा तथा अन्धविश्वास
अज्ञानताका कारणले पनि अफवाह फैलिने गर्छ । समाज जति अशिक्षित र अन्धबिस्बासले जगडिएको छ त्यो समाजमा त्यति नै चाडो अफवाहहरु फैलिने गर्छन । अशिक्षाको कारणले बिषयलाई तथ्य परक तरिकाले बुझ्ने र निर्णय लिने क्षमता कमी आउँछ । अशिक्षित ब्यक्तिहरु चाडै अरुको कुरामा बिस्वास गरि हाल्ने , लहैलहैमा लागि हाल्ने हुन सक्छन् ।
उनीहरुले आफुले सुनेको कुरा असत्य नै भएपनि सत्य नै हो भन्ने ठान्दछन साथै यो कुरा अरुका लागि पनि महत्त्वपूर्ण छ भन्ने सोची यसको प्रचार गर्न पट्टी लाग्दछन ।
मानसिक रोग
मानसिक रोगीहरुका कारण पनि अफवाह फैलिरहेको हुन सक्छ । मेनिया (उन्माद ) नामक मानसिक रोगको बिरामीले आफु शक्तिशाली भएको , जस्तो सुकै समस्या हल गर्न सक्ने क्षमता आफुसँग भएको जस्ता कुरा गर्ने गर्छन । पहिले ठिकठाक भएको ब्यक्ति पछि एकाएक म गुरु हुँ , माता हुँ , ममा अलौकिक शक्ति छ भन्दै अव्यबहारिक , ठुला ठुला कुरा गर्ने , घमण्ड गर्ने ब्यक्तिहरु प्राय यसै रोगका बिरामी हुन्छन ।
आफूलाई गुरु, माता बताउने केहिले कोरोनाको अौषधी आफुसँग भएको , कोरोना महामारीको समधान आफूले गर्न सक्ने जस्ता अफवाह सामाजिक संजाल मार्फत फैलाउने गरेको पनि देखिन्छ । मानसिक स्बास्थ्यका बारेमा अज्ञानता र अन्धविश्वासका कारण यस्ता खालका अफवाहलाई फैलाउन मानिसहरुले सहयोग गरिरहेको पनि देखिन्छ ।
– सिजोफ्रेनिया अन्तरगत पर्ने कडा मानसिक रोग ” Grandiose delusion disorder ” का बिरामीहरुले आफुमा ठूलो शक्ति र क्षमता भएको ठान्दछन । बिश्व ब्रह्माण्डको सबै ज्ञान प्राप्त बिद्धान र ट्यालेन आफुलाई सम्झन्छन् । भुत र भबिष्यका सबै कुरा बताउन सक्ने र संसारलाई चमत्कार गरेर देखाउन सक्ने क्षमता आफुसँग छ भन्ने मतिभ्रम यस्ता बिरामीमा हुन्छ । यस्ता बिरामीहरुको भ्रम पुर्ण कुरालाई अज्ञानताबस बिस्बास गर्नाले पनि जनमानसमा अफवाह फैलिएको हुन सक्छ ।
यी र यस्ता अन्य कारणहरुले पनि अफवाह फलिरहेको हुन सक्छन । कुनै कुराको बारेमा धारण बनाउनु अगाडि राम्रोसँग सोच बिचार गर्नु जरुरी हुन्छ । बिषयबिज्ञहरुको मात्र कुरा सुन्नु पर्छ । अफवाहको पछि लाग्दा ठुलो दुख पाईन सक्छ । नेपालको संविधानले प्रत्येक ब्यक्तिलाई बिचार र अभिब्यक्तिको स्बतन्त्रता दिएको छ तर यसो भन्दैमा समाजलाई हानी नोक्सानी पुर्याउने र शान्ति सु ब्यबस्थामा खलल पुर्याउने कार्य गर्नु भने अपराघ हो । नेपालको कानुनमा अफवाह फैलाउने, प्रचारप्रसार गर्ने ब्यक्तिलाई दण्ड सजायको ब्यबस्था गरिएको छ ।
( लेखक ढकाल मनोविद हुन । उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन ।)