काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई संसदमा उपस्थितिको लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा शुभकामना दिने क्रममा उठाइएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीभित्र अनुशासन चाहिने तर अरु दलभित्र अनुशासन नचाहिने यो कस्तो प्रणाली हो ? टिप्पणी गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन दलका सांसदहरुलाई अनुरोध मात्र गरिएको तर ह्वीप नलगाएको प्रष्ट पारे ।
कोभिड खोपका लागि सरकार लागिपरेकाले जनताका लागि सकेसम्म खोपको व्यवस्था गर्ने बताए । आफू नेतृत्वको सरकारले सकेसम्म देखिने काम गर्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता व्यक्त गरे । आफू नेतृत्वको सरकार गठबन्धन दलको सरकार भएकाले सबैको सहयोग र सहकार्यमा काम हुने बताए ।
संसद बैठकमा दलको तर्फबाट नवनियुक्त प्रधानमन्त्री देउवालाई सांसदहरुले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । बधाई दिने सांसदमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, काँग्रेसबाट प्रकाशमान सिंह, माओवादी केन्द्रबाट हरिबोल गजुरेल, जसपाबाट महेन्द्र राय यादव र अनिलकुमार झा, नेमकिपाबाट प्रेम सुवाल, राष्ट्रिय जनेमोर्चाबाट दुर्गा पौडेल, राप्रपाबाट राजकुमार लिङदेनले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरे ।
प्रधानमन्त्री देउवाले संसद बैठकमा महालेखा परीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदन २०७७ पेश गरे । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ संसद बैठकमा पेश गरे । अर्को बैठक १२ गते मंगलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।