पाल्पाली ढाका परियोजनाको लागि प्रदेश सरकार र यूके एडले झण्डै ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । पाल्पाली ढाका सीप परियोजनाबाट झण्डै १५ सय युवा स्वरोजगार बन्ने अनुमान लगाइएको छ ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पाल्पाली ढाका संघका अध्यक्ष पूर्णमायाँ महर्जन र सीप परियोजनाका प्रमुख बल्जित बोहोराले ‘ढाका परियोजना सम्झौता पत्रमा बुधबार हस्ताक्षर गर्नुभएको थियो ।
परियोजनाबाट तालिम सञ्चालन गर्ने र उद्यमी बन्न चाहनेहरुलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामार्फत लगानी गर्ने सम्झौता भएको छ । उद्यमीले चाहेअनुसार संस्थाले प्रक्रिया पूरा गरेर सस्तो ब्याजदरमा ऋण लगानी गर्ने भएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने मुख्यमन्त्रीको सपथ खाने बेलामा पाल्पाली ढाकाको टोपी नपाएको गुनासो गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सपथ लिने बेला बुटवल बजारभरी घुम्दा पनि पाल्पाली ढाकाको टोपी नपाएको बताउनुभएको हो ।
नेपालीको पहिचान दिने पाल्पाली ढाका टोपी पछिल्लो समय ओझेल पर्दै गएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । समयको माग अनुसार गुणस्तरीय पाल्पाली ढाकाको ब्राण्ड दिनसके बजारको समस्या नहुने उहाँले बताउनुभयो । विदेशमा समेत ढाकाबाट बनेका सामाग्रीहरु बेच्न सकिने उहाँको भनाइ छ ।
तानसेन नगरपालिकाका प्रमुख शाहीले पाल्पाको पहिचान पाल्पाली ढाकाको उत्पादन घटेपनि माग बढीरहेको बताउनुभयो । बाहिरी ढाकाको आयात हुँदा पाल्पाली ढाकालाई असर परेको उहाँले बताउनुभयो ।
श्राेत : उज्यालाे अनलाइन