सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छ वटा विषय अध्ययन गर्छन् ।
केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिए । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।