तनहुँ जिल्लाको बन्दिपुर-१ डुम्रे केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँ जिल्ला डुम्रे स्थित इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँलाई प्रहरी स्वास्थ्य सामग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाईरस (कोभिड-१९) विरुद्ध प्रतिकारात्मक कार्य गर्नका लागि देशको अग्रपंक्तिमा रहेर सर्वसाधारणको जीउ धन, शान्ति, सुरक्षाको लागि अहोरात्र खटिने देशको नेपाल प्रहरीलाई संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले आज (शुक्रबार) इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा पुगेर प्रहरी नायब निरीक्षक श्री वीरेन्द्र कुमार खड्कालाई टचलेस सेनिटाइजर डिस्पेन्सर, १५० थान माक्स र ५ लिटर सेनिटाइजर हस्तान्तरण गर्नु भएको हो ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत यस सानो सहयोगले अहोरात्र खटिने नेपाल प्रहरीको उच्च मनोवल कायम गर्न योगदान पुग्ने विश्वास लिइएको छ । वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आई रहेको र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री केशब कुमार पौडेलले बताउनु भयो ।
कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठ, वरिष्ठ अधिकृत श्री प्रल्हाद के.सी. कुवँर, कनिष्ठ सहायक श्री राम शरण लोहनी, सञ्चारकर्मी रेडियो छिम्केश्वरीका अध्यक्ष श्री शिव कुमार श्रेष्ठ तथा प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
संस्थाले गत वर्ष बन्दिपुर गाउँपालिकाको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण राहत कोषमा नगद रु. ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो । देशभरमा सेवा दिने अनुमति प्राप्त गरेको राष्ट्रिय स्तरको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्त वित्तीय संस्थाहरुको भिडमा छोटो समयमा पनि राम्रो मुनाफा आर्जन गर्न सफल भएको छ । यस वित्तीय संस्थाले ७ वटै प्रदेशका ४० जिल्लाहरुमा ७४ शाखा कार्यालय, ४ अनुगमन मुकाम, केन्द्रीय कार्यालय गरी ७९ वटा कार्यालयको सञ्जालबाट ५१,७१५ विपन्न घरधुरीमा ३ अरब २९ करोड ९७ लाख ८० हजार ४९३ रुपैयाँ लगानी गर्न सफल भएको छ भने ८४ करोड २४ लाख २८ हजार ५०० रुपैयाँ बचत परिचालन गर्न सफल भएको छ ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय, रिमझिमचौक बाँकेले पनि आफनो नजीकैको प्रहरी कार्यालयलाई ५ लिटर सेनिटाईजर तथा ५०० थान माक्स वितरण गरेको छ । त्यसै गरी यस संस्थाको मदनचौक शाखा बाँकेले पनि नजीकैको प्रहरी कार्यालयलाई ५ लिटर सेनिटाईजर र ५०० थान माक्स वितरण गरेको छ ।