गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्र चरा हब

सांकेतिक तस्विर

ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् । स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।

केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउनुहुन्छ । काठमाडौँं उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् ।

यो क्षेत्रमा नेपालमा मात्रै पाइने काँडेभ्याकुरजस्ता विशेष महव बोकेका चरा पाइने चराविज्ञको दाबी छ । दुई दिन चराको खोजीमा पनौतीमा कमै मात्र पाइने मुरारी पुतलीचरा, सुनौलो रबिनसमेत भेटिनु निकै खुसीको कुरा रहेको र चराको तस्बिर लिनसमेत निकै राम्रो भू–बनोट भएकाले चराको हबका रूपमा विकास गर्न सकिने श्रेष्ठको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्