नेपाललाइ चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला

नेपालका लागि चीनले चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला गरेको छ  । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो । दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो । बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो । त्यसपछि २०७५ असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्य्विधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै गतवर्षकै असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो । सोही सहमति अनुसार दुई देशबीच ल्हासा, बेइजिङपछि र तेस्रोपटक काठमाडौँमा बसेको दुई देशका प्रतिनिधिले प्रोटोकललाई अन्तिम रूप दिएको थियो । प्रोटोकलमा सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको गत वैशाख तेस्रो हप्तामा भएको चीन भ्रमणका क्रममा यसमा हस्ताक्षर भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्