दशगजामा भारतले रातारात निर्माण गर्‍यो संरचना

परासी – पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेषपुर नाकामा भारतले दशगजामा भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात पक्की संरचना निर्माण गरेको हो । पाल्हिनन्दन गाउँपालिका १ ठुटीबारी नाकामा चेकजाँच गर्ने स्थल निर्माण गरेको भन्दै मंगलबार राति भारतले संरचना निर्माण गरेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए ।

‘भारतले एकाएक भौतिक संरचना निर्माण गरेको रहेछ । बिहानै स्थानीयले खबर गरेपछि स्थलगत अध्ययन गरेर भारतीय पक्षलाई संरचना भत्काउन आग्रह गरेका छौं,’ गाउँपालिका अध्यक्ष गुप्ताले भने,‘अब जिल्ला मार्फत केन्द्रिय सरकारले पहल लिनुपर्‍यो । ’ मंगलबार बिहान नभएको संरचना एकाएक बुधबार बिहान देखेपछि स्थानीय अचम्म परेका थिए । यसअघि पनि पटक पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि रातारात भारतीय एसएसबीले संरचना निर्माण गरेको हो ।

महेषपुर मूल भन्सार जिल्लाको सबै भन्दा बढी चहलपहल हुने क्षेत्र हो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दशगजा क्षेत्रमा भारतले संरचना निर्माण गरेको सूचना आएकाले आफूले सीमावर्ती भारतीय जिल्लाको गृह प्रशासन र गृह मन्त्रालय मार्फत् कूटनीतिक पहल सुरु गरेको बताए ।

कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्