दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्र्तगत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।
सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने प्रमुख देवको भनाइ छ ।
त्यस्तै विगत दुई बर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्वनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ । आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसङ्ख्यकलगायत समुदायका लागि घर निर्माण गर्दै आएको प्रमुख देवले बताए । रासस