काठमाडौं – मटर तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको खुलेको छ ।
अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज गोविन्द विक र जवान रामबहादुर साउदको हत्या मटर तस्करी रोक्न खोज्दा भएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् ।
शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।
सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएको थियो ।
जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याँकिएको थियो भने त्यसक्रममा नदीले बालुवा बगाउँदा पुरिएको पनि हुनसक्छ ।
जवान साउदको टाउकोमा लाठी र गर्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।