पत्रपत्रिकाबाट
काठमाडौँ – ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी
सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’
गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् ।
विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् । सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् ।
अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ । यद्यपि बदलिँदो परिस्थितिमा त्यो विगतको हुलाकले आधुनिक काँचुली फेर्ने प्रयत्न गरिरहेको छ । त्यसैले त यस वर्षको विश्व हुलाक दिवसमा नारा नै बनेको छ, ‘मोर देन मेल’ ।
संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । सोही दिनलाई विश्व हुलाक दिवसका रूपमा विश्वभर मनाइन्छ ।
नेपालले २०१३ सालमा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको हो । विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापनासँगै नेपालमा हुलाक सेवा प्रारम्भ भएको हो । यसलाई नेपालमा पुरानो सरकारी अड्डाका रूपमा समेत लिइन्छ । किन हो कुन्नि ? कर्मचारीको अरुचिको क्षेत्र बनेको छ अचेल हुलाक । यद्यपि देशभरि तीन हजार ९९४ वटा हुलाक संरचना मार्फत जनताको सेवामा समर्पित हुलाकमा करिब ३० हजार जनशक्ति अझै कार्यरत छन् ।
हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाकसँग रहेको त्यो सङ्गठन संरचना र जनशक्तिलाई सरकारको प्रथम सेवा प्रदायकका रूपमा विकास गर्न सकिने सम्भावना जीवितै रहेको बताए । उनले त्यसका लागि व्यावसायिक क्षमताको उपयोग र कर्मचारीमा उत्प्रेरणा आवश्यक छ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।