ज्योती जोशी, दार्चुला
जुन बुवाको स्खलनबाट जन्मिएकी छोरी उनै बुवाबाट दुष्ट नजरको पन्जामा फस्दैछन् भने गम्भीर भएर सोच्ने बेला आयो- कतातिर जाँदै छ हाम्रो समाज ? समाजमा पनि आजकल के-के देख्न र सुन्न परेको हो दिनानुदिन ? बुबाद्वारा नै छोरीको बलात्कार, छोराद्वारा आमामाथि बलात्कार, दाजुद्वारा बहिनीकै अस्मिता हरण‘ यस्ता अनेक हेडलाइनले छ्यापछ्याप्ती छन् हिजोआजका पत्र-पत्रिका र अनलाइनहरू ।
हिजो भरखरै इलाममा आफ्नै बुबाद्वारा छोरीको बलात्कार भन्ने खबर सुन्दा मजस्तै लाखौँ छोरीहरुको रगत उम्लिएको होला । यो घटनाको केही दिनअगाडि मात्रै आफ्नै सुदूरपश्चिमको बझाङमा १२ वर्षिया सम्झना कामीको बलात्कारपछि निर्मम तवरले हत्या गरियो । जुन खबर सुन्दा मात्र पनि हामी छोरीचेलीहरुको छाती चिरिएको छ । समाजमा खुलेर अनुहार देखाउन पनि लज्ज्तित बनाइरहेको छ ।
करिब दुइ वर्षअगाडि कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याले देश नै रोयो । तर अहिलेसम्म उनको आत्माले न्याय पाएन । हामी बाहिरबाट सुन्नेहरुलाइ त यति पीडा र असह्य हुन्छ भने स्वयं ती भोग्नेहरूलाइ कस्तो होला ? कलिलो उमेरमै निमोठिन पुगेका ती मुनाहरुको आत्मा कति भड्किँदै रोइरहेको होला ? यति गम्भीर अपराध भइरहँदा पनि हाम्रा गृहमन्त्री र सरकारमा बस्ने मानिसहरूको मुटुमा कत्ति पनि घोचेको छैन ।
फुल्नै लागेका कलिला मुनाहरुलाई मन्दिरजस्तो पवित्र स्थलमै लगेर बलात्कार गरिन्छ, अस्मिता लूटिन्छ र उसको प्राण नै निमोठिन्छ भने कहाँ रह्यो अब पापधर्मको डर ? कठै ! यसरी मानवता र भावना बिर्सेको समाजको एक लज्जित सदस्य हुँ म पनि । सोच्दा मात्र विरक्त लागिरहन्छ । मेरो समाजमा लाखौँ छोरीहरु अहिलेसम्म लज्जित नै भएर हिँड्नुको अरु कुनै विकल्प भएन ।अब कति लज्जित भएर बस्ने ? के आजको समाजले साँच्चिकै महिलाको महत्व र अस्तित्व बिर्सेकै हो ?
आजका दिनमा किन अपराध कर्मले यति उग्र रूप लिइरहेका छन् ? के यो सबै राज्य मुकदर्शक भएर बस्ने र दण्डहीनताको पक्षपोषण गर्ने कार्यकै उपज होइन र ? आज समाजमा हरेक नारी (छोरीचेली एवं दिदीबहिनीहरू) त्रसित छन् । नारीपुरुष समानताका कुरा गरेर नथाक्नेहरू पनि यस्ता अपराध र नारीमाथिका विभेद एवं हिंसाप्रति मुकदर्शक देखिन्छन् । केही समयअघिसम्म हामीले सुन्ने गरेका थियौं कि महिलाहरु एक्लै यताउति जाँदैनन्, उनीहरूलाई केही भुसिया पुरुषहरु देखेर कतै बेचबिखनमा पो परिने हो कि, या बलात्कृत पो भइने हो कि भन्ने भयले चिमोटिरहन्थ्यो । तर आज समाज शिक्षित र सभ्य हुँदै गएको भनिएका वेला पनि झन् आफ्नै समाज, परिवारका सदस्यबाट नै सुरक्षित हुन नसकेको अवस्था छ ।
एक त समाजको व्यवस्था र पुरातन सोचका कारण महिलाहरू विभेद र हिंसाको सिकार भइरहनुपरेको छ । पुरुषप्रधान समाज भएकाले अहमता देखाउन खोज्ने पाखण्डी सोच नै यसको मुख्य कारण बन्न सक्छ। अर्को अहिलेको डिटिल युगमा विकास भएका विभिन्न सोसल साइटहरु, युटुब, अश्लील फिल्म एवं भिडियोहरू जस्तैः पोर्न भिडियो इत्यादीको प्रभावका कारण समेत यस्ता अपराधका घटनाहरू बढिरहेका छन् । बेरोजगारी समस्या, संयम हराउनु, अधर्यता, नारीको भावनासङ्ग खेल्ने प्रवृत्ति, युवाहरूमा बढ्दो कुलत एवं डिप्रेसन इत्यादिका कारण पनि महिलामाथि हुने हिंसा, बलात्कार र विभेदजन्य घटनामा वृद्ध भइरहेको छ । जबसम्म यी र यस्ता समस्याका मुल जराहरु काटिदैन, तबसम्म नारीहरूले समाजमा सुरक्षित महसुस गर्न सक्दैनन् ।
आज महिलाको न्याय र संरक्षणका समस्याका लागि विभिन्न समाधानका उपाय स्थापना भए तापनि यो समस्या बढ्दै गइरहेको छ । पछिल्लो समय कोरोना महामारीका कारण जारी भएको लकडाउनकै बेलामा पनि नारीहरु कोरोनाबाट भन्दा यस्तै पुरषद्वारा भयभीत भएका छन् । क्वारेन्टाइनमै बलात्कृत भएका छन्, बाटोघाटोमै बलात्कृत भएका छन् । रोगबाट मात्र नभएर यस्ता गिद्धेनजरहरूबाट कसरी बाँच्ने भन्ने कुरा सोच्न बाध्य भएका छन्, हाम्रो समाजका नारी ।
यस्ता समस्या बढ्दै गरेको ठाउँमा साक्षरता दर बढ्नुको कुनै अर्थ छैन । हरेक सम्बन्धित निकायले यस समस्यातर्फ ध्यान केन्द्रित गर्नु र कडा कदम चाले न्यूनीकरण गर्नु आवश्यक छ । बालबालिकामाथि हुने बलात्कारले बालअधिकार हनन भएको मात्र छैन, उनीहरूको कलिलो दिमागमा नकात्मक एवं भयको कुरूप चित्र समेत मडारिएको छ ।
आज संविधानकै मौलिक हकमा रहेका भाग ३८ (महिला हक) र भाग ३९ (बालबालिकाको हक) को पालनामा किन कमजोरी देखियो ? ती धारा र भागहरूकै निर्लज्ज उपहास भइरहँदा के तीन तहका सरकारहरू यस समस्यातर्फ संवेदनशील छैनन् ? महिला अस्तित्व रक्षाको जिम्मा कसले लिने ? समग्रमा भन्नुपर्दा पुरुषले जन्म पाउनको लागि महिलाकै कोख र काखमा बसेर हुर्किनुपर्ने परम सत्यलाइ किन बुझ्दैनन् ? उल्टै आमासमान नारीमाथि कुदृष्टि लाउन त्यस्ता राधम पुरुषको कुन विवेकले काम गरेको होला ? सोच्दै अचम्म लाग्छ ।
अब महिलामाथि यस्तो कुदृष्टि र नराम्रो क्रियाकलाप गर्नेलाइ कडाभन्दा कडा कारबाहीको व्यवस्था होस् । हरेक समाजका नारीहरू पनि सचेत र सजक हुनु जरुरी छ, उनीहरूलाइ साथ दिनु सचेत पुरुषहरूको पनि कर्तव्य हो । जबसम्म यस्ता समस्या समाजमा दोहोरिरहन्छन्, तबसम्म महिलाहरू अगाडि बढ्न पाउँदैनन् ।
आज पूर्वी इलामको घटनाले पश्चिम दार्चुलामा रहेकी म नेपाली चेली त्रसित छु भने म जस्ता कैयौं नारीहरु यस्तै डर-त्रासमा जिन्दगी बिताइरहेका छन् । अतः महिलाको प्रेरणाकै लागि भए पनि यस्ता अपराध कर्महरूविरुद्ध समाजमा हरेक सचेत र विवेशशील दाजुभाइ एवं दिदीबहिनीहरू जागरूक भएर लाग्नुपर्छ र राज्यका निकायले पनि गम्भीरतापूर्वक लिनुपर्छ ।
यत्र नार्यस्तु पुजन्ते रमन्ते तत्र देवता ।