काठमाडौं – स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो।
फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ। उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ। महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ। साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन्। गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।