सिन्धुपाल्चोक पहिरो अपडेटः ७ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज विहान खसेको पहिरोमा परि मृत्यु भएका ७ जनाको शव फेला परेको छ भने अझै ३१ बेपत्ता छन् । पहिरोले ३७ घर ध्वस्त भएको र १४ जना घाइतेको उद्दार गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । करिब चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको हो ।

लिदीमा पहिरो गएर ठूलो धनजनको क्षति हुनु सरकार जिम्मेवार रहेको स्थानीयहरुले आरोप लगाएका छन् । गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए । तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले बताउनुभयो । तामाङका अनुसार २६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको उल्लेख गरेको तामाङले बताउनुभयो ।

अहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको हो । यसअघि सभामुख अग्नि सापकोटा, नेकपाका नेता माधब सापकोटा सुबोध, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ लगाएतको टोलिले घटनाको अनुगमन गरि फर्किसकेको छ । पहिरोमा भेटिएका शवको भने सनाखत भएको छैन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्