काठमाडौं – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् ।
शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।