काठमाडौं- प्रतिनिधि सभाको राज्य ब्यवस्था तथा सुशासन समितिको संसद सचिवालय सिंहदरवारमा बसेको बैठकमा निर्वाचन आयोगको बार्षिक प्रतिवेदनमा छलफल भएको छ ।
प्रतिवेदनका निष्कर्ष बारे समितिलाई जानकारी गराउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रणाली ब्यवस्थित गर्न सम्बन्धित सबै कानूनहरुलाई एकिकृत गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले निर्बाचन आचार सँहिताको समुचित पालना नहुँदा निर्वाचन खर्चिलो हुनुका साथै बिभिन्न बिकृतिहरु बढेको बताउनुभयो ।
बैठकमा साँसदहरुले निर्वाचन किफायती बनाउन उपयुक्त कानून बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँहरुले निर्वाचन खर्चिलो हुँदा भ्रष्टाचार मौलाएको पनि बताउनुभयो । बैठकमा बिदेशमा रहेका नेपालीहरुको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मतदाता नामावली अद्यावधिक गर्ने, मतदाताहरुको दोहरो नामावलीको बिद्यमान समस्या सुल्झाउनु पर्ने जस्ता बिषयहरु उठाइएका थिए ।
बैठकको अध्यक्षता गरिरहनुभएकी समिति सभापति शशी श्रेष्ठले निर्वाचन प्रणालीलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने कानून निर्माणमा समितिको सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्दै आयोगलाई आफ्ना आवश्यकताहरु बारे स्पष्ट हुन आग्रह गर्नुभयो ।