“लेख्न छुटेको कोशेली”

बहुतै लेखें
बहुतैपटक लेखें
लेख्दालेख्दा अक्षरका टुक्राहरू नै खतम होलान् जस्तो भयो
तरपनि महत्वपुर्ण कोशेली लेख्न सकिनं
लेख्नु बहुतैपनि थिएन
जम्माजम्मी एक शब्द मात्रै थियो लेख्नुपर्ने
लेख्दै गए,नियमित जसो लेख्दै गए
पृष्ठमाथि पृष्ठ थप्दै
निरन्तर लेख्दै गए
आफ्ना कोशेलीहरू लेखें
तिम्रा कोशेलीहरू लेखें
जन्मभूमि, गाउँ-घरका कोशेलीहरू लेखें
तर लेख्न चाहेको महत्वपुर्ण एक शब्द लेख्न सकिनं
अन्गिन्ति दिनहरू बिते
कहाँ,कुन ठाउँमा छौ अहिले तिमी
केहीपनि जानकारी छैन मलाई
कहाँ, कुन ठाउँमा छु म
त्यो पनि जानकारी नहोला तिमीलाई
त्यसपछि के-के भए आधुनिक संसारमा
त्यो तिमीलाई पनि जानकारी छ
त्यो मलाई पनि जानकारी छ
तर तिम्रो जानकारीमा नभएको
र,मेरो मात्रै जानकारीमा भएको
महत्वपुर्ण एउटा कोशेली
यति लामो श्रृंखलामा
मैले लेख्न सकिनं
लेख्न त मैले यो शब्द
अन्गिन्ति लेखें
अरूनै पात्रका लागी
अरू नै सम्बन्धका लागी
तिम्रो लागी लेख्न सकिनं
सम्भवतः अरूका पनि होलान्
यस्ता घटनाहरू
अरूले पनि लेख्न सकेनन् होला
तिनिहरूले
लामालामा कविता,उपन्यासमा
यो शब्द
लाखौं पटक लेखेर
पृष्ठहरू खालि गरे होलान्
मैले जस्तै
तरपनि आफ्ना निम्ति सायद लेख्न सकेनन्
जसरी मैले लेख्न सकिनं
अब आज फेरी म किन लेखूं यो शब्द?
यसको प्रयोग
अन्त भइसकेको छ
यसको मतलब
सन्दर्भहीन भइसकेको छ
यसको सामयिकता निष्क्रिय भइसकेको छ
नयां संविधानको लेखनपछि
पुरानो संविधानका धाराहरू जस्तै
तसर्थ आजपनि लेख्दिनं म यो शब्द
जुन शब्द नपढी
यी पङ्क्तिहरू पढ्यौ भने
तिमिले पक्कै पनि बुझ्नेछौ
र ,ती ठूल्ठूला पुस्तक लेख्नेहरूले पनि
बुझ्नेछन्
यो दुनियाकै सबैभन्दा प्यारो शब्द
सबैभन्दा शक्तिशाली शब्द
र,जिन्दगीको हरेक कानुनको
प्रस्तावनामा लेखिने
यो एक महत्वपुर्ण शब्द
तिमिले आफै बुझ
तर आजपनि म लेख्दिनं यो एक महत्वपुर्ण शब्द।

कविता रचनाकार : बिष्णु सिंह बोहरा

ठेगाना : शैल्यशिखर नगरपालिका, रानीशिखर कांडापारी दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्