काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो लकडाउनका कारण उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेको जनाएको छ । निगमले आइतबार सञ्चारकर्मीहरुसँगको छलफलमा आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको जनाएको छ ।
सोहीअनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ । यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ ।