दाहाल र नेपालसँग कुरा नमिलेपछि ओलीले आफुनिकट नेताहरुलाई बालुवाटार बोलाए

File Photo

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरूलाई बिहीबार साँझ बालुवाटारमा बोलाएका छन् ।

दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि प्रधानमन्त्री ओलीले आफूनिकट नेताहरूलाई साँझ बालुवाटार बोलाएका हुन् ।

बालुवाटार छलफलमा उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र सांसदहरू सहभागी रहेको स्रोतले जनायो ।

नेताहरूसँग प्रधानमन्त्री ओलीले भोलि बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेका छन् । स्रोतका अनुसार दिउँसो प्रचण्ड र नेपालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान दोहो¥याएका थिए ।

नेकपाभित्र पछिल्लो समयमा प्रचण्ड–नेपाल खेमाले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ भने ओली दुबै पद नछोड्ने अडानमा छन् ।

विवादले पार्टी फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच सहमति गर्ने भन्दै असार १० गतेदेखि जारी स्थायी समिति बैठक असार १८ गतेपछि लगातार स्थगित हुँदै आएको छ । अर्को बैठक शुक्रबार बोलाइएको छ । यो बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्