काठमाडाैँ – रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को ११औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब डेढ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब १०० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक तथा सिसानका प्रमुख सल्लाहकार प्रा.डा. रामेश्वर अधिकारीले ”संचार कौशलको संक्षिप्त परिचय’ तथा युनिग्लोब कलेजका रसायन शास्त्र ब्याखाता जयराम घिमीरेले ‘ChemDraw for Chemistry’ विषयमा बोलेका थिए । कार्यक्रममा विद्यार्थीबाट उठेका करिब आधा दर्जन प्रश्नहरुको सम्बोधन वक्ताहरुले गरेका थिए । कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो ।
राजेन्द्र जोशी, आकाश घिमीरे र विकास निरौला प्राविधिक रहेका थिए । कार्यक्रममा संस्थाका अनुसन्धान संयोजक सौरभ कटुवालले ’कोरोना अपडेट’ गराएका थिए भने संस्थाका सदस्य प्रतिमा खड्काले वक्ताहरुको छोटो परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रकाशन संयोजन समितिका संयोजक अनिल सिग्देलले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र सचिव संजीव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । संस्थाले कोरोना भाइरस सम्बन्धि ’कोरोना खोज’ नाम न्युजलेटर पाक्षिक रुपमा प्रकाशन गर्दै आएको र पछि पुस्तकको रुप दिने योजना रहेको अध्यक्ष रोका मगरले जानकारी दिए । कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । गत हप्ता मात्र ‘कृषि उत्पादनमा सलह किराको प्रभाव’ विषयमा नार्कका वरिष्ठ कृषि वैज्ञानिक डा. केदार बुढाथोकीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियोे । आगामी दिनहरुमा पनि यस्तै विद्यार्थीहरुलाई हित हुने कार्यक्रमहरु आयोजना गर्दै जाने अध्यक्ष रोका मगरको भनाई छ ।