प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् । बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।
पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
करिब ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी नेताहरुको बैठकमा अबको साझा रणनीति समेत बनाएको छ ।
केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको शैलीप्रति विरोध जनाउँदै प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।