ससुराले करणी गरी बुहारी सुस्मिताको हत्या गरे, हत्या यसरी भएकाे थियाे …

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार सुस्मिताले आफुमाथि सासु–ससुरा र परिवारका अन्य सदस्यले दिएको दुखबारे नोट बनाएर राखेकी थिइन्, जुन प्रहरीले फेला पारेको छ।

प्रहरी अनुसन्धान रिपोर्टमा सुस्मिताको हत्याका तीन वटा कारण देखाइएको छ। दोस्रो ‘यौनजन्य कारण’ शीर्षकमा भनिएको छ, ‘ससुरा प्रकाश थापाबाट बुहारी मृतक सुस्मिता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणी उद्योग गरेको।’

रानाका अनुसार त्यो नोटबाट पनि उनीमाथि ससुरा प्रकाश थापाले बलात्कार गरेको खुल्छ। साथै सुस्मिताले अफ्ना निकटका केटी साथीहरूलाई पठाएको म्यासेजबाट पनि बलात्कार भएको खुलेको तर घटनाको मिति उल्लेख नभएको रानाले बताए।

‘सुस्मिताले आफ्ना नजिकका केटी साथीहरूलाई पठाएको फोन म्यासेजबाट उनीमाथि ससुराले बलात्कार गरेको खुलेको छ’, उपरीक्षक रानाले भने, ‘प्रहरी अनुसन्धानबाट पनि बलात्कार गरेको पुष्टि भएको छ।’

२०७६ वैशाख १८ गते प्रकाश थापाका छोरा रूपेन्द्र थापा र सुस्मिता क्षेत्रीबीच विवाह भएको हो । २०७६ असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसको झण्डै ९ महिनापछि, गत असार २ गते बिहान मकवानपुरस्थित घरको भान्सा कोठामा २४ वर्षीया सुस्मिता मृत फेला परिन् ।

मृतकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको थियो।

कसरी भयो हत्या?
गत असार १ गते बेलुकी साढे ९ बजे ससुरा प्रकाश थापा र सासु तुलसा थापा खाना खाएर भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए।

उनीहरुले प्रहरीलाई दिएको बयानअनुसार, खाना खानुअगाडि ससुरा प्रकाश थापाले रक्सी पिएका थिए।

त्यसपछि नन्द सीता थापा र मृतक सुस्मिता क्षेत्री थापाले भान्छा कोठामा खाना खाइरहेका थिए। सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिइन्।

त्यहिबेला ससुुराले बाहिरबाट काठको लौरो लिएर भान्छा कोठामा आएर टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा लडिन्। प्रहरी भन्छ– नन्द सीता थापाले पनि सुस्मितामाथी प्रहार गरिन्।

सुस्मिताले बचाउ–बचाउ भन्दै चिच्याउन थालिन्। ‘त्यो आवाज सुनेर सासु तुलसा भान्छा कोठामा पुगिन्। तर उनलाई ससुरा र नन्दले बाहिर निकाले। त्यसपछि ससुरा र नन्दले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरियो,’ बयानमा भनिएको छ।

सुस्मिताको मृत्युपछि सासु भित्र आएर फुटेको सिसाको कचौराको टुक्राहरू प्लास्टिकको झोलामा हालेर भान्छा कोठा अगाडिको बरन्डामा राखेको खुलेको छ।

सीताले आफ्नी आमालाई लिएर सुत्न गइन् र हल्ला नगर्न भनिन्। बाबु छोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि सल्लाह गरेको समेत बयानमा बताइएको छ।

भान्छा कोठाभित्र बिग्रिएका सबै चीजहरु यथास्थानमा मिलाएर राखी भान्छा कोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी बिभिन्न स्थानमा लागेका रगतहरू पुछे।

सीता भान्छाबाट निस्किन्। ससुरा प्रकाशले भित्रबाट ढोकाको चुक्कुल लगाई भान्छा कोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्कीएको बयानमा खुलेको छ ।

फुटेका सिसाका टुक्राहरू र काठको लौरो घर पछाडिको मकैबारीमा भेटिएको थियो। बाबु छोरीले नै रगत लागेका कपडाहरू धोई पखाली गरेर आआफ्नो कोठामा गएको बयानमा खुल्छ ।

भोलिपल्ट बिहान ५ बजे उठेर छरछिमेकलाई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भन्दै खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

 

नेपाल खबर अनलाइनकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्