विराटनगर – विराटनगरमा स्कोरपिओ गाडीको ठक्करबाट ती जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट बिहीबार राति तीन जनाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले करिब ४०–४५ वर्षीया पैदल महिला यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए । त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको डीएसपी गिरीले बताए । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको गिरीले जानकारी दिए । उनले दुर्घटनामा परेर मृत्यु भएपनि पहिचान नखुलेका दुई जनाका बारेमा थप सोधीखोजी गरेर बुझ्ने काम भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको बताए ।
स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ ।रासस