काठमाडौँ – पश्चिम रूकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा मुछिएका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको हत्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मुद्दा दायर भएको थियो । अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा मुछिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको हो । अदालतका स्रेस्तेदार क्रित बोहोराले दुई नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको पुष्टि गरे ।
दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभियुक्तको बयान सुरू हुनेछ । क्रुरतापूर्वक हत्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कैद सजाय माग गरिएको छ । ३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन् ।