CORONA

कैलालीका नदीमा देखिन थाले दुर्लभ डल्फिन

धनगढी- नदीमा पानीको सतह बढेपछि विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन् । पानी कम भएको बेला गहिरइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया, काँढालगायत नदीमा आइपुग्ने गर्दछन् ।

चुरे क्षेत्रमा वर्षा भई नदीमा पानीको सतह बढेपछि शनिबारदेखि दुई वटा डल्फिन देखिन थालेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष पहिलो पटक एउटा वयस्क र उसको बच्चा देखा परेका छन् ।

माउ र बच्चा डल्फिन मोहना र पथरैया नदीको दोभानमा देखिएको ढुङ्गानाले बताउनुभयो । विगतमा असार पहिलो सातातिरबाट डल्फिन कर्णालीको सहायक नदीहरूमा देखिने गरेका थिए । ‘यो वर्ष अलि चाँडै देखा परे’, ढुङ्गानाले भन्नुभयो । डल्फिन देखिएको र मनसुनभरि अवलोकन गर्न पाइने यो स्थान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको सहायक नदीमा मनसुनभरि देखिने गर्दछन् । मनसुन सकिएसँगै डल्फिनहरू पुनः मुख्य नदी कर्णाली हुँदै भारतको घाँघरासम्म पुग्ने गरेको बताइन्छ ।

यद्यपि, यस वर्ष माघमा पनि मोहना नदीमा डल्फिन देखिएको थियो । कर्णाली नदीमा भने वर्षभरि नै डल्फिनको बसोबास रहने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । मनसुनमा मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान र पथरैया–गैरी खोलाको दोभानमा निकै नजिकबाट डल्फिन अवलोकन गर्न पाइने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ ।

‘तर, नदीमा पानीको गहिराइ कायम रहिरहेमा यहाँ वर्षभरि नै डल्फिन बस्न सक्छन्’, उहाँले भन्नुभयो । पर्यटनको राम्रो सम्भावना बोकेको डल्फिनको कैलालीमा २०५७ सालबाट संरक्षण हुँदै आएको छ । पहिलेका नामूद सिकारी ७५ वर्षीय भोजराज श्रेष्ठको नेतृत्वमा समुदायस्तरबाट डल्फिन संरक्षणको कार्य हुँदैआएको हो । वन्यजन्तुको सिकार गर्न छोड्नुभएका श्रेष्ठले डल्फिन संरक्षणमा आफ्नो जीवन समर्पण गर्नुभएको छ । संरक्षणको कार्य थालेपछि हरेक सिजनमा विभिन्न देशका पर्यटक डल्फिन अवलोकन गर्न यहाँ आउने गरेका छन् ।

स्वच्छ पानीमा बस्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । तर, नदीमा प्रदुषण बढ्दै जानु, डल्फिनको आहारा प्रजातिको रुपमा रहेका माछाको जथाभावी सिकार हुनुले संरक्षणमा चुनौती रहेको संरक्षणकर्मीहरू बताउँछन् । नदीमा माहाजाल हालेरसमेत माछा मार्ने गरिएको छ ।

विगत केही वर्षयता माहाजाल हालेर माछा मार्नमा बन्देज लगाइएको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । यसैगरी, नदीहरूमा प्लाष्टिकजन्य वस्तु र मरेका जनावरको सिनो फाल्ने कार्यमा पनि रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो ।गोरखापत्रबाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्