काठमाडौं – दैनिक १२ हजार बराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो ।
चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौँ आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ । झण्डै रु ३० करोडबराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए । भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो । यस्तै सो कम्पनीले नौ थान अटोेमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पिसिआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ ।
पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ ।
सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो ।
ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण एक लाख ८८ हजारको भएको छ । देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो । रासस