कक्षा ११ र १२ को परीक्षाबारे चाँडै निर्णय हुनेः शिक्षा मन्त्री

काठमाडौं – सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क गरिरहेका छन् ।

तर जानकारहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।

कक्षा ११ र १२ को परीक्षाको विषयमा आफूले सरोकारवालासँग विस्तृतमा छलफल गरिरहेको उनले जानकारी दिए । मन्त्री पोखरेल भन्छन्, ‘परीक्षाबारे सकेसम्म चाँडो निर्णय गर्ने गरी छलफल गरिरहेको छु ।’ लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्यौलताबारे आफू गम्भीर रहेको पोखरेल बताउँछन् । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था शिक्षा ऐनमै गरिएको छ । परीक्षाबारे अर्को निर्णय लिन ऐनमै संशोधन गर्नुपर्ने हुन्छ ।

कक्षा ११ को परीक्षा नहुन सक्ने !

शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनु पर्ने बाध्यकारी व्यवस्था छैन । त्यसको अर्थ हो कक्षा ११ को परीक्षा विद्यालय आफैले लिनसक्दछ । त्यसका लागि ऐन परिवर्तन गर्नु पनि पर्दैन ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला कक्षा ११ को वार्षिक परीक्षा केन्द्रले लिनु कानूनी रुपमा गलत भएको बताउँछन् । उनी भन्छन्, ‘यस्तो माहामारीका बेला कानूनमै व्यवस्था नभएको परीक्षा लिन मरिहत्ते नगर्नु नै उचित हो ।’ कक्षा ११ को परीक्षा सधैंका लागि विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । शिक्षा मन्त्रालयका एक सहसचिव कोरोना महामारी कम भएन भने ११ कक्षाको परीक्षा नहुन सक्ने बताउँछन् । ‘११ कक्षाको परीक्षा पनि सार्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ’ ती सहसचिव भन्छन्, ‘कक्षा ११ र १२ को परीक्षाको विषयमा एक हप्ता जतिमा निर्णय हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्