काठमाडौँ — नेपाली कांग्रेसका आठ जना सांसदहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् ।
मंगलबार सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।
उनीहरुले पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन हालेको बताएका छन् । राजपा र समाजवादीले संशोधन दर्ता गराएपछि तराईरमधेसकै भूभागबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुले संशोधन दर्ता गराएका हुन् । संशोधन हाल्ने मध्येका सांसद सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिएरै संशोधन हालिएको बताए । उनीहरुले तत्कालीन कांग्रेस नेतृत्वकै सरकारले अघि बढाएको विधेयकमा उल्लेखित बिषयभन्दा फरक समानुपातिक समावेशीको बिषय थपेका छन् । संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था मात्रै रहेकोमा संशोधनमा समानुपातिक शब्द थप गरिएको छ । यसअघि कांग्रेसले प्रदेशको सीमाना हेरफोर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको बिषयमा संशोधन हालेको थियो । अहिले संशोधनमा ती सबै बिषय हूबहु राखिएका छन् ।