काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले असोज १६ गतेदेखि अधिवेशन अन्त्य हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिनुभयो। संविधानअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित भएका छन्। त्यस्तै, विभिन्न अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका छ वटा विधेयक पारित भई प्रमाणीकरण भएका छन्।
अधिवेशनका क्रममा वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने विधेयक लगायतका विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन्। यसैगरी, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमाणीकरण भएको छ। प्रतिनिधिसभामा १० भन्दा बढी विधेयक विभिन्न संसदीय समितिमा विभिन्न चरणमा विचाराधीन छन्।
चालु अधिवेशनमा प्रतिनिधिसभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको थियो। अधिवेशनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभएको थियो। यसैगरी, परराष्ट्रमन्त्री तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रतिनिधिसभामा प्रश्नोत्तर भएको थियो। पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि सांसदहरूले प्रश्नोत्तर गरेका थिए।
अधिवेशन अन्त्यका लागि गरिएको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि असोज १६ गतेदेखि सङ्घीय संसद्को चालु अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ।




