काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्। प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएअनुसार प्रधानमन्त्री शाह पहिलो पटक नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन्।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले दर्ता गराएका लिखित प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। यसअघि जेठ १७ गते प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन अचानक संसद् पुगेका थिए। त्यसपछि नियमित रूपमा प्रश्नोत्तर कार्यक्रममा उपस्थित नभएपछि सभामुख डीपी अर्यालले भदौ १ गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गरेका थिए।
आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका गरी ११ जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्ने भएका छन्।
सांसदहरूले प्रधानमन्त्रीसँग मुख्य रूपमा नेपाल–भारत सीमा सम्बन्धमा यसअघि संसदमा व्यक्त गरेको धारणा, सरकारको तीनमहिने कार्यसम्पादन, सुशासन, बजेट कार्यान्वयन, विकास निर्माण तथा संसद्प्रति सरकारको जवाफदेहिता लगायत समसामयिक विषयमा प्रश्न राख्ने तयारी गरेका छन्।
यसअघि जेठ १७ गते संसदमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विषयमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। आजको प्रश्नोत्तरमा उक्त विषयमा समेत सांसदहरूले प्रधानमन्त्रीसँग थप स्पष्टता माग्ने तयारी गरेका छन्।
यसैबीच, प्रधानमन्त्री शाहले आज संसदमा कालो चस्मा लगाएर उपस्थित हुने जानकारी संसद् सचिवालयलाई गराएका छन्। चिकित्सकको सिफारिसअनुसार उनले संसदमा सनग्लास प्रयोग गर्ने भएका हुन्।
वीरेन्द्र सैनिक अस्पतालका नेत्ररोग विशेषज्ञले उज्यालोमा देख्न कठिनाइ हुने समस्याका कारण प्रधानमन्त्री शाहलाई सनग्लास तथा आई ड्रप प्रयोग गर्न सुझाव दिएका थिए। सोही चिकित्सकीय सिफारिससहितको पत्र प्रधानमन्त्रीले संसद् सचिवालयमा पठाएका छन्।
संसदमा पछिल्लो समय मर्यादा र पोसाकसम्बन्धी बहस भइरहेका बेला प्रधानमन्त्रीले चिकित्सकीय कारणसहित कालो चस्मा प्रयोग गर्ने जानकारी गराएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसँगै सरकारको कामकारबाही र संसद्प्रति जवाफदेहिताका विषयमा समेत सांसदहरूले धारणा राख्ने अपेक्षा गरिएको छ।



