काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात् होस्टेललाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार, तोकिएको भन्दा बढी शुल्क असुली, कमसल खानाको व्यवस्था तथा झडपमा ज्यानै जानेसम्मका गम्भीर घटना र गुनासा बढेपछि प्रशासनले कडाइ गरेको हो ।
गत शुक्रबार मात्रै काठमाडौंको शङ्खमूलस्थित भ्याली ब्वाइज होस्टेलमा २२ वर्षीय वसन्त कालाखेतीको हत्या भएको थियो । उक्त घटनापछि निजी छात्रावासको सुरक्षा तथा व्यवस्थापनप्रति प्रश्न उठिरहेका बेला प्रशासनले २१ बुँदे निर्देशन जारी गरेको हो । नयाँ निर्देशनअनुसार होस्टेलभित्र लागूऔषध, मदिरा तथा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध गर्नुपर्नेछ । त्यस्तै, कोठा र शौचालयबाहेकका स्थानमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
होस्टेलमा २४ घण्टा जिम्मेवार वार्डेन तथा सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्नेछ । महिला र पुरुषका लागि एउटै भवनमा होस्टेल सञ्चालन गर्नसमेत नपाइने प्रशासनले जनाएको छ । त्यसैगरी होस्टेलमा बस्ने विद्यार्थीको विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्ने, स्वच्छ तथा गुणस्तरीय खानाको व्यवस्था गर्नुपर्ने र विद्यार्थीका लागि उपयुक्त अध्ययन कक्ष अनिवार्य रूपमा राख्नुपर्ने निर्देशन दिइएको छ ।
प्रशासनले यसअघि नै मापदण्डविपरीत सञ्चालन भएका केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै सिलबन्दीसमेत गरिसकेको जनाएको छ । प्रशासनले जारी गरेको निर्देशन पालना गरी एक महिनाभित्र आवश्यक सुधार गर्न सबै निजी छात्रावास सञ्चालकलाई समय दिएको छ । तोकिएको अवधिभित्र सुधार नगर्ने होस्टेल सञ्चालकमाथि प्रचलित कानूनबमोजिम थप कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।



